पुरुष समाचार

इमर्जिङ कपले डिपिएल सर्याे, अब चैत २७ बाट

बहुप्रतिक्षित सगरमाथा सिमेण्ट धनगढी प्रिमियर लिग (डिपिएल) २२ दिन पर सर्ने भएको छ। डिपिएलको पूर्वनिर्धारित समयमा एसियन क्रिकेट काउन्सिल (एससिसी)ले एसीसी इमर्जिङ टिम्स कप आयोजना गर्ने भएपछि डिपिएल पछि सर्ने भएको हो।

आयोजक धनगढी क्रिकेट एकेडेमीले मंगलबार जारी गरेको विज्ञप्तिमा डिपिएल अब चैत्र २७ गतेदेखि वैशाख ९ गतेसम्म हुने जनाइएको छ। यसअघि आयोजनाका लागि निर्धारण गरेको चैत ५ गतेलाई प्रभावित हुने गरी एसीसीले इमर्जिङ कप आयोजना गर्ने भएकाले राष्ट्रिय क्रिकेटको बृहत्तर विकासलाई ध्यानमा राख्दै प्रतियोगिता पछि सारिएको विज्ञप्तिमा जनाइएको छ।

‘हामीले पूर्वनिर्धारित समयानुसार आयोजनाको ९० प्रतिशत काम सकाइसकेका थियौं,’ आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले भने, ‘तर, अन्तर्राष्ट्रिय खेलमा खेलाडीहरूको एक्सोजरलाई मध्यनजर राख्दै प्रतियोगिता पछाडि धकेल्ने निर्णयमा पुगेका हौं।’ उनका अनुसार इमर्जिङ कप र डिपिएल दुबै नेपाली क्रिकेटका लागि दुबै महत्वपुर्ण छन्। ‘डिपिएलले घरेलु क्रिकेटमा व्यवसायिकताको प्रवर्द्धन गर्दै नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याएको छ।’

डिपिएलमा देशभरिका विभिन्न ६ वटा टिमका सहरहरू सहभागी हुँदैछन्। काठमाडौं, विराटनगर, भैरहवा, धनगढी, अत्तरिया र कञ्चनपुर सहभागी टिम हुन्। टिममा सहभागी हुने खेलाडीका लागि काठमाडौंमा अक्सन गरिएको थियो। काठमाडौंको कप्तानमा बसन्त रेग्मी, भैरहवाको शक्ति गौचन, धनगढीको पारस खड्का, अत्तरियाको ज्ञानेन्द्र मल्ल र कञ्चनपुरको विनोद भण्डारीले प्रतिनिधित्व गर्दैछन्।

Comments

comments